नोरदेन रुम्बाका गीत सुनाउँदै चन्दन-डेजी-विमोचना

Feb 21, 2025

नोरदेन रुम्बाका गीत सुनाउँदै चन्दन-डेजी-विमोचना

हरेक अंग्रेजी महीनाको अन्तिम शुक्रवार नेपालयको आरसालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम पलेंटीमा यस पटक दार्जिलिङ्को सुविख्यात साङ्गीतिक परिवार प्रस्तुत हुने भएको छ ।

यस महिनाको कार्यक्रमका निम्ति सङ्गीतकार चन्दन लोमजेलले दार्जिलिङ्का सुप्रसिद्ध गीतकार नोरदेन रुम्बाका गीतमा धुन भरेर ल्याएका छन् । जसलाई लोकप्रिय स्वर-सिल्पी डेजी बराइली र विमोचना लोमजेलले गाउने छन् । यो कार्यक्रम एउटै परिवारको पुरानो र नयाँ पुस्ताको साङ्गीतिक सङ्गम पनि हुनेछ ।



पलेँटी कार्यक्रम आजभन्दा २० वर्ष पहिलेदेखि सञ्चालन हुँदै आएको लघु साङ्गीतिक कार्यक्रम हो ।नोरदेन रुम्बा दार्जिलिङको नेपाली साहित्यिक जगतमा स्थापित नाम हो । रुम्बाले दार्जिलिङ बसेर गरेका सृजनाले नेपाली साहित्यिक क्षेत्रको धुरी अग्लिएको छ । सन् १९४९ मा दार्जिलिङमै जन्मिएका गीतकार रुम्बा ४० वर्षको उमेरसम्म मात्र भौतिक रुपमा यस संसारमा रहे तर उनले छाडेर गएका साहित्यिक रचना र गीतहरूले अझै पनि नेपाली कला जगतलाई गुन लगाइरहेका छन् ।

सङ्गीतकार चन्दन लोमजेलकै धुनमा मूर्धन्य नेपाली गायक नारायणगोपालले स्वर दिएको 'मेरा सबै रात अब, मातहरू भए' गीत नोर्देन रुम्बाकै सृजना हो । त्यस्तै सङ्गीतकार कर्म योञ्जनको धुनमा अरुणा लामाले गाएको 'फूललाई सोधेँ, कहाँ गयौ कता गयौ भमरा' सङ्गीतकार बद्री-दुर्गा खरेलको धुनमा रहेका 'गाइने दाइलाई सुनकेशरीको केश सोध्नै भुलेँ' र दावा ग्याल्मोले स्वर दिएको ‘शुभकामना खाली खाली दिनेलाई दानी भनेर जाँदैछु' नोर्देन रुम्बाकै शब्द हुन् ।

सङ्गीतकार चन्दन लोमजेलकै धुनमा डेजी बराइलीले स्वर दिएका - ‘कति बग्यो कति बग्यो, पुलमुनि पानी रेसम' साथै नेपालको लोकरक व्याण्ड नेपथ्यले गाएको 'कसैले सोधे कुन हो तिम्रो गाऊँ' पनि नोरदेन रुम्बाकै सृजना हुन् ।

यो महिनाको पलेँटीमा भने उनले लेखेका तर आजसम्म कतै रेकर्डमा नआएका गीतहरू प्रस्तुत हुनेछन् । यसपालीको पलेँटी बारे कार्यक्रम संयोजक आभास भन्छन् – 'नोर्देनले आफ्नो जीवनको उत्तरकालमा रचेका रचनाहरू सङ्गीतकार चन्दन लोमजेलसँग थन्किएका छन् भन्ने जानकारी हामीलाई भयो । त्यसपछि हामीले चन्दनजीलाई अनुरोध गरेर ती रचनालाई नेपाली सङ्गीतप्रेमी माझ ल्याउने जमर्को गरेका हौं ।'

पहिलो पल्ट सन् २००६ मा पलेँटी कसेका चन्दन भन्छन् – 'पलेँटीले पुराना सर्जकहरूका रचनालाई सरक्षण गर्ने जुन उद्देश्य राखेको छ त्यसबाट प्रभावित भएर नै यसपाली पनि पलेँटीमा आएका छौं । गीतकार दाजु नोरदेन रुम्बाका रचना पलेँटीमा सरक्षण गर्ने उदेश्य सुन्ने बित्तिकै हौसिएको म यहाँ आएर वाद्यवादकहरूसँग अभ्यास गरिरहँदा झन् हौसिएको छु ।' आफ्नो खुसी व्यक्त गर्दा चन्दनको कालो टोपीमा उनिएको खुकुरीको निसान टलक्क टल्किरहेको देखिन्थ्यो ।

चन्दन झैँ सन् २००६ मै पहिलोखेप पलेँटीमा आएकी डेजी बराइली भन्छिन् - 'पहिलोपाली पलेँटीमा आउँदा त यो कार्यक्रमका बारेमा अनभिज्ञ थिएँ । त्यसपछि आइरहन मन लाग्थ्यो र बेलाबखत आइ पनि रह्यौ । कोविड महामरीपछि भने आउने चाहना र योजना हुँदा हुँदै पनि आउन पाइएन । अहिले यहाँ आइपुग्दा त सपनै जस्तो लागेको छ ।' उनी थप्छिन् – 'त्यतिबेला विमोचना सानै थिइन: अहिले हेर्नु त ! सँगसँगै गाउने गरी आएकी छिन् ।'

आफ्नो जिन्दगीको सबैभन्दा पहिलो स्टेजको सम्झना गर्दै विमोचना लोमजेल भन्छिन् – 'त्यो बेला संजोगले मैले पलेँटीको स्टेजमा गाउने मौका पाएकी थिएँ । सायद त्यही दिनले गर्दा होला म पनि गायन क्षेत्रमै रमाइ रहेकी छु । आज आफ्नो उही पहिलो स्टेजमा आइपुग्दा साह्रै खुशी लागेको छ । हामी परिवार नै एकसाथ यति लामो कन्सर्टमा उत्रन लागेको यो नै पहिलो मौका हो ।' उनी थप्छिन् – 'बाबा आमासँग एउटै मञ्चमा उत्रन पाउनु एउटा खुशी, फेरि यस्ता गहकिला शब्द गाउन पाउनु अर्को खुशी ।'

पलेँटी कार्यक्रम यही फेब्रुअरी महिनाको अन्तिम शुक्रबार: २८ तारिख र मार्च १ तारिख: शनिवारका दिन आयोजना हुनेछ । कालिकास्थानस्थित नेपालयको 'आर'सालामा हुने यस कार्यक्रमको टिकट  www.paleti.com.np मा प्रवेश गरेर अनलाइनबाट नै प्राप्त गर्न सकिन्छ ।