नेपथ्य सबैको श्रृंखलाको तेस्रो प्रस्तुती बाल मन्दिरमा

Jan 19, 2006

माइती नेपालका बालबालिका र महिलाहरूका लागि पौष ९ गते र डिल्लीबजारस्थित बाल संरक्षण सेवा केन्द्र परिसरमा भेला भएका करिव ७ सय सडक बालबालिकाहरूका लागि पौष २० गते भएका विशेष साङ्गीतिक प्रस्तुति पश्चात नेपथ्य अब बाल मन्दिर (नेपाल बाल संगठन)का बालबालिकाहरूमाझ विशेष प्रस्तुती गर्नेभएको छ ।

नेपथ्य सबैको श्रृंखला अन्तर्गतको यो तेस्रो साङ्गीतिक प्रस्तुति बाल मन्दिर परिसरमा यही माघ ११ गते हुने कार्यक्रम रहेको छ । कार्यक्रममा करिव ५ सय बालबालिकाहरू सहभागी हुनेछन् ।

बाल मन्दिरमा आश्रित बालबालिकाहरूकासाथै उपत्यकामा रहेका अन्य बाल गृहहरूका बालबालिकाहरूलाई पनि कार्यक्रममा सहभागी गराउने प्रयास बाल मन्दिर र नेपालयले गरिरहेको छ ।

सरकारी स्तरमा सञ्चालित बाल मन्दिरमा २६६ बालबालिकाले आश्रय पाएका छन् जसमध्ये धेरै अनाथ रहेका छन् ।

नेपथ्य समूहका गायक अमृत गरूङ् भन्छन्, “बालबालिका र सामाजिक रूपमा बञ्चित अन्यको मुहारमा खुशी र उमङ्ग ल्याउनु यस साङ्गीतिक श्रृंखलाको प्रमुख उदेश्य हो र हाम्रो प्रयासले राम्रो प्रतिक्रिया पाएकोमा म धेरै खुशी छु । हाम्रा गीतहरूमा ती बालबालिकाहरू रमाएर नाचेको देख्न पाउनु वास्तवमै सन्तोषजनक अवसर हो ।”

सामाजिक संवेदशीलताका लागि प्रशंसा बटुल्न सफल नेपथ्यले हालै मात्र आफ्नो नयाँ गीति एल्बम ‘घटना’ सार्वजनिक गरेको छ । समालोचकहरूले यस एल्बमलाई साहसीपूर्ण र युद्ध विरोधी साङ्गीतिक एल्बमको संज्ञा दिएका छन् ।

नेपथ्य सबैको श्रृंखला अन्तर्गत ६ प्रस्तुतिहरू हुने कार्यक्रम रहेको छ । बाँकी तीन प्रस्तुति सुस्त मनस्थितिका बालबालिका, श्रवण तथा दृष्टीविहिन व्यक्तिहरू आदिका लागि हुनेछन् ।