नेपथ्यको मुलुक यात्रा धनगढीमा सम्पन्न

Dec 01, 2018

नेपथ्यको मुलुक यात्रा धनगढीमा सम्पन्न

देसकै पूर्वी भागबाट सुरुभएको नेपथ्यको सांगीतिक यात्रा पश्चिमी भागमा पुगेर एकताको सन्देश दिँदै बिहीबार बेलुकी धनगढीको मैदानमा सम्पन्न भएको छ । पुर्वको बिर्तामोडबाट मंसिर ४ गते सुरुभएको यो यात्रा धरान, बुटवलहुँदै सुदूरपश्चिमको धनगढी आएर सकिएको हो ।


‘यो ठाउँ आउँदा मलाई द्वन्द्वकालको चरम दिनहरुमा हामीले गरेका यात्राको सम्झना हुन्छ,’ धनगढीका दर्शकहरुसँग संवाद गर्दै नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङले भने, ‘अब चाहिँ युद्धपछि सुधारोन्मुख नेपाल देखापर्न लागेकामा खुशी छु ।’


धनगढीमा यो नेपथ्यको चौथो उपस्थिती थियो ।


२०६२ सालमा ‘सुन्दर शान्त नेपाल’ र तीन पटक ‘शान्तिको लागि शिक्षा’ संगीत यात्रा अभियान अन्तर्गत ब्याण्ड यहाँ उपस्थित भएको थियो । त्यतिबेला आतंकमा बाँचेको सिंगो समाजलाई संगीतका माध्यमबाट थोरै भएपनि राहत दिने उद्देश्यका साथ त्यो अभियान चलाइएको थियो ।


धनगढी रंगशाला प्रांगणमा जम्मा भएका दर्शकहरुमा सँधैजस्तै विविधता देखिन्थ्यो । 


तिनै मध्येकी एक थिइन् विमला विष्ट । आठवर्षे छोरा र तीन वर्षीया छोरी साथैमा लिएर आएकी विमला को निम्ति भने यो नेपथ्यको पहिलो कार्यक्रम थिएन । 


यसभन्दा अघिल्लोपटक २०६२ सालमा ‘सुन्दर शान्त नेपाल’ शान्ति संगीत यात्रामा संलग्न भइ नेपथ्य धनगढीमा प्रस्तुत हुँदा उनी दस कक्षामा अध्ययनरत छात्रा थिइन् । उनी पढ्ने त्रिनगर विद्यालयमा नै त्यो कार्यक्रमको आयोजना भएको थियो । त्यतिबेला एक छात्राका रुपमा नेपथ्यको कन्सर्ट हेरेकी विमला यतिबेला केटाकेटीसहित उपस्थित हुँदा त्यही पुरानो दिनलाई फेरि सम्झना गरिरहेकी थिइन् । पहिले दिउँसो कन्सर्ट आयोजना भएको स्थानमा अहिले चाहिँ राती भइरहेको परिस्थिती नै उनको निम्ति बदलिँदो समयको उदाहरण थियो ।


‘द्वन्दकालको त्योबेला साँझपख भेलाहुन त परको कुरा हिँडडुल गर्न पनि डरमर्दो थियो,’ उनले भनिन्, ‘आज चाहिँ म साना केटाकेटीसमेत साथमा लिएर यसरी रातीको कार्यक्रम हेर्न सक्ने भएकी छु ।’ 


विमलाले बिहीबारको कन्सर्टमा आफूमात्र नभइ धनगढीका थुप्रै चिनेजानेका मानिसहरु केटाकेटीसहित उपस्थित भएको जानकारी दिइन् । ‘उतिबेला विद्यार्थी हुँदाजस्तै आज पनि रमाइलो लागिरहेको छ,’ विमलाले थपिन्, ‘नेपथ्यको अनुभवले पुरानो समयसँग जोड्दो रहेछ ।’


धनगढी कन्सर्टको सुरुवात निर्धा्रित समयअनुसारै बेलुकी ठीक पौने छ बजे ‘सा कर्णाली’ म्यूजिक भिडियोको प्रस्तुतीका साथ गरिएको थियो । म्यूजिक भिडियोको प्रस्तुतीपछि मञ्चमा उक्लेको नेपथ्यले लगातार दुइ घन्टासम्म ब्याण्डका नयाँ पुराना गीतहरु सुनाउँदै गयो ।  


धनगढीमा आयोजित प्रायः कार्यक्रमहरु हेर्दै आएका स्थानीय सञ्चारकर्मी नवराज धानुकका अनुसार नेपथ्यको मौलिक अनि लोकप्रिय गायन मात्र नभइ आधुनिक प्रस्तुतीका हिसाबले पनि कन्सर्ट विशेष थियो । ‘ध्वनी, प्रकाश, भिडियोको प्राविधिक संयोजन र प्रस्तुती असाध्यै उत्कृष्ठ लाग्यो,’ धानुकले भने, ‘यो स्तरको कार्यक्रम सुदुरपश्चिममै पहिलोपटक भएको हो ।’ धानुकले यत्तिको दर्शक पनि यसअघि जुटेको आफूलाई सम्झना नरहेको उल्लेख गरे ।


‘हामीले काठमाडौं भित्र वा वाहिर जता कन्सर्ट गर्दा पनि प्राविधिक हिसाबले दर्शक र श्रोताहरुलाई एउटै स्तर प्रदान गर्दै आएका थियौं,’ नेपथ्यको व्यवस्थापन गर्दैआएको नेपालयका किरणकृष्ण श्रेष्ठले भने, ‘यसपटक पनि कलाकार र प्राविधिकको भ्रमणदल देखि लिएर अत्याधुनिक साउण्ड सिस्टम सहितको यात्रा यी चारवटै सहरमा सम्पन्न गरेका हौं ।’


सुदूरपश्चिम कैलाली त्यही भूमि हो जहाँ कुनै समय मुलुककै नाम चलेका कवि तथा गीतकार कार्यरत रहँदा यो भेगको विरह माथि चर्चित सिर्जना तयार पारेका थिए । त्यो कविताको लाइनले भन्थ्यो, ‘सूर्य पनि अस्ताउन मात्र आउँछ सुदुर पश्चिममा ।’


‘अब यो भावना अन्त्य हुँदैछ,’ गायक अमृतले कन्सर्टकै क्रममा भने, ‘सिंगो मुलुक एकभएर जानुपर्छ र त्यसमा सुदुरपश्चिमले पनि हातेमालो गर्नेछ भन्ने विश्वास लिएको छु ।’ अमृतले यस अवधि बीचमै पनि यो प्रदेश सम्वृद्धि उन्मुख भएको देख्दा खुशी लागेको बताए । सुदुरपश्चिमसँग अथाह प्राकृतिक सुन्दरता रहेको र त्यसको पहिचान गरेर धेरै अगाडि बढ्न सक्ने सुझाव पनि उनले दिए ।


कन्सर्टको अन्त्य ७३ वर्षअघि कवि गोपालप्रसाद रिमालले शब्द दिएका कालजयी गीत ‘रातो र चन्द्रसूर्जे’बाट भएको थियो । राष्ट्रिय झण्डाको स्तुतीमा रचिएको यस गीतमा धनगढीवासीले उत्साहका साथ नाच्दै देसप्रतिको माया दर्शाएका थिए ।


धनगढीमा कार्यक्रमको स्थानीय आयोजना भने ‘दाताज् इभेन्ट’ र ‘द मान्सन् नेपाल’ले संयुक्त रुपमा गरेको थियो ।


ब्याण्ड स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा नेपथ्यले यसरी देसभर कार्यक्रम आयोजना गरेको हो । 


देशको जटिल र सहज सबै परिस्थितीमा देशवासीको साथ रहन पाउँदा आफुलाई खुशी लागेको गायक गुरुङले बताए ।