Jun 03, 2026
नेपाली लोकरक ब्यान्ड नेपथ्यले मलेसियाको राजधानी क्वालालम्पुरमा भव्य साङ्गीतिक प्रस्तुति दिएको छ । नेपथ्य आफ्नो साढे तीन दशक लामो साङ्गीतिक यात्रामा पहिलोपटक मलेसियामा प्रस्तुत भएको हो ।
पर्यटकीय स्थल बुकित बिन्ताङस्थित ‘जेप हल’ मा आइतबार बेलुकी ठीक ७ बजे नेपथ्यले ‘कोशीको पानी’ गीतबाट कन्सर्ट सुरु गरेको थियो ।
एकपछि अर्को गीत प्रस्तुत गर्ने क्रममा नेपथ्यका गायक अमृत गुरुङले दर्शकसँग संवाद गर्दै देशप्रेमका सन्देश पनि प्रवाह गरे । गीत सङ्कलनका क्रममा अनेक स्थान पुग्दा नेपाललाई नजिकबाट चिन्ने अवसर पाएको पनि उनले सुनाए । स्वदेश पुगेका बेला ती स्थान घुम्न दर्शकलाई आह्वान गरे ।

दर्शक लहरमा सिङ्गापुरदेखि आइपुगेका रेस्टुरेन्ट व्यवसायी पदम थापा पनि थिए । ‘नेपालका सबै भेगको संस्कृति समेटिने गीत–सङ्गीतसँग झुम्न पाइयो । फरक–फरक पुस्ताको रुचि पनि एकै ठाउँमा अटाएको महसुस भयो,’ छिमेकी मुलुक सिङ्गापुरमा २५ वर्षदेखि बस्दै आएका उनले भने, ‘नेपथ्यको स्वाद लिनकै निम्ति टाढाको यात्रा गरेर आएको हुँ ।’ राम्रो तयारी र उत्कृष्ट व्यवस्थापनका कारण कन्सर्ट उच्च स्तरको बनेको प्रतिक्रिया उनले दिए ।
केही वर्षयता वैदेशिक रोजगारीका लागि प्रमुख गन्तव्य बन्दै आएको मलेसियामा नेपाली कामदारको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
नेपथ्यका लागि साङ्गीतिक प्रस्तुतिका हिसाबले मलेसिया २० औँ मुलुक हो भने क्वालालम्पुर ५८ औँ विदेशी सहर ।

कन्सर्टमा मलेसियास्थित नेपाली दूतावासकी उपप्रमुख (चार्ज डि अफेयर्स) मुदिता बज्राचार्य पनि आएकी थिइन् ।
‘क्वालालम्पुरमा नेपथ्य अनुभव गर्न पाउँदा असाध्यै खुसी छु,’ उनले भनिन्, ‘कन्सर्टमा रमाउँदै गर्दा हाम्रो आफ्नै पाराका शब्द र धुनहरूको शक्तिले बारम्बार पुराना दिन सम्झायो, सँगै विविधताको आनन्द पनि महसुस गर्न पाइयो ।’
विदेशी भूमिमा रहेर कूटनीतिक सेवा गरिरहँदा नेपथ्यजस्तो ब्यान्डको स्तरीय प्रस्तुति र गायक अमृतले बीच–बीचमा दिने देशप्रेमका सन्देशहरूका कारण गौरव र आत्मसम्मान बढेको अनुभव भएको पनि उनले सुनाइन् ।
दर्शक घेराबीच क्वालालम्पुरस्थित लिङ्कन विश्वविद्यालयमा दुई वर्षदेखि अध्ययनरत सिमरन सेढाईं पनि थिइन् ।
‘अमृत गुरुङको नजिकै रहेर नेपथ्य कन्सर्ट हेरेको यो अनुभव मलाई सपनाजस्तो लागिरहेको छ,’ स्कुले विद्यार्थी छँदा साथीहरूमाझ ‘यो जिन्दगानी गीतकी गायिका’ भनेर चिनिएकी सिमरनले थपिन्, ‘त्यही गीत आज नजिकैबाट सुन्दा आँसु थाम्न सकिनँ ।’

नेपथ्यको पुरानो टिसर्ट अझैसम्म साँचेर राखेका पिताको प्रेरणाले नै बाल्यकालमा आफूलाई सङ्गीतको तालिम लिने मौका जुराएको उनले सुनाइन् ।
दुई घण्टा लामो कन्सर्टको अन्त्य ‘रातो र चन्द्रसुर्जे’ गीतबाट गरिएको थियो ।
कन्सर्ट आयोजनास्थल ‘जेप क्वालालम्पुर’ अन्तर्राष्ट्रिय स्तरको रङ्गमञ्च तयार पार्ने जापानस्थित ‘जेप समूह’ कै विस्तार थियो । त्यसका निर्देशक सिनिचिरो होन्डाका निम्ति पनि यो पहिलो नेपाली कार्यक्रमको अनुभव बन्न पुग्यो ।
‘यस ब्यान्डले नेपाली मौलिकतालाई समातेर वैश्विक स्वादमा गीत पस्कँदो रहेछ,’ कन्सर्ट हेरिसकेपछि होन्डाले भने, ‘सङ्गीतदेखि लिएर व्यवस्थापनसम्म सिङ्गो प्रस्तुति स्तरीय महसुस गरेँ ।’

मलेसियाको फरक दर्शक घेरालाई नेपथ्यसँग नजिक्याउन जिम्मेवारी सम्हालेका स्थानीय आयोजकले पनि कार्यक्रमबाट सन्तुष्टि मिलेको प्रतिक्रिया दिए ।
‘ब्यान्डको प्रस्तुति सोचेभन्दा गहकिलो महसुस गरेका छौँ,’ स्थानीय आयोजक ‘आर्बिटरी इभेन्ट्स’ का विपिन नकर्मी भन्छन्, ‘जे जति दर्शक आउनुभयो, उहाँहरू सबै मिठो सम्झना बोकेर जानुभएको देख्दा आनन्द लागेको छ ।’
मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।
मलेसियामा आयोजित यो एक मात्र कन्सर्ट सकिएपछि ब्यान्ड स्वदेश फर्किएको छ ।
Contacts
Email:
[email protected]© Copyright Nepa~laya. All rights reserved.