नेपथ्यको नयाँ गीत ‘कोशीको पानी यो जीन्दगानी’ सार्वजनिक
काठमाडौं, साउन ७
नेपथ्य आफ्नो साँगीतिक यात्राको दसौं अल्बम को तयारीमा ब्यस्त छ । मुलुकका विभिन्न भाग घुमेर संकलन गरिएका केहि गीत र केहि परिचित कविहरुका सिर्जना यो अल्बममा अटाएका छन् ।
यसै क्रममा पूर्वी नेपालको संखुवासभाबाट संकलन गरिएको लोकलय ‘हाक्पारे’मा आधारित नेपथ्यको नयाँ गीत ‘कोशीको पानी यो जीन्दगानी’ यसै विज्ञप्तीका साथ सार्वजनिक गरिएको छ । पिता–पुर्खाका पालादेखि साँगीतिक अभ्यास गर्दैआएका चैनपुर निवासी वृद्ध डिल्ले दमाईका माध्यमबाट नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङले यसको संकलन गरेका हुन ्। चार वर्षअघि धुलिखेल नजिकैबाट पैदलयात्रा सुरुगरेका अमृतले सँधै झैँ धुनहरुको खोजीगर्दै दुर्गम मार्गभएर पूर्वी नेपाल घुमेका थिए । त्यसैक्रममा चैनपुर पुगेकोबेला डिल्ले दमाई भेटिएका थिए ।
‘अग्रज संगीतकर्मीहरु रामेश र मञ्जुलले कुनैबेला तय गर्नुभएको त्यो बाटोमा मैले धेरै नयाँ–पुराना कुराहरु अनुभव गर्न पाएँ,’ गायक अमृत भन्छन्, ‘यात्रा अन्त्यमा पुगेको बेला भेटिनुभएका डिल्ले दमाइ दाइका माध्यमबाट पूर्वी नेपालका थुप्रै लोकलयहरुसँग परिचित हुने मौका पनि मिलेको थियो ।’
लोकलयलाई नै आफ्नो साधनाको केन्द्रविन्दू मान्नेगरेका अमृतको प्रेरणाको श्रोत फराकिलो घेरामा अटाएको छ ।
‘परिचित संगीतज्ञदेखि लिएर बाटोमा सारंगी बजाउँदै हिँड्ने गाइनेदाईहरु सम्मलाई मैले गुरुका रुपमा ग्रहण गरेको छु,’ उनी भन्छन्, ‘गुरु पूर्णिमाको छेक पारेरै सार्वजनिक हुनलागेको यो हाक्पारे गीत म मेरा अर्का गुरु डिल्ले दमाइ दाइमा समर्पित गर्न चाहन्छ ु।’
लोकगीत भनेको गाउने नाच्ने साधन मात्र नभइ सुदुर भेगका स्थानीय जनजीवनलाई गहिरिएर बुझ्ने माध्यम पनि हो।
‘बढ्दो बाह्य प्रभावले यस्ता गीतहरु हिजोआज हराउँदै जानथालेका छन्,’ अमृत भन्छन्, ‘तै पनि यात्राका क्रममा अहिले पनि फाट्टफुट्ट संकलन गर्न पाइन्छ ।’
लामो अन्तरालपछि ‘वान टेक रेकर्डिङ’ प्रविधि अपनाइएको कारण पनि नेपथ्यको यो दसौं अल्बम संगीत पारखीका निम्ति विशेष रहनेछ । डिजिटल ट्र–याक रेकर्डिङ सुविधा आउनुअघिको यो प्रविधिमा गायक र वाद्यवादकले एकसाथ गाउँदा गाउँदै र बजाउँदा बजाउँदै एकैपटक रेकर्ड सम्पन्न गरिन्छ । यसरी रेकर्ड गर्दा अप्ठेरो पर्ने र तुलनात्मक कम सफा सुनिने भए पनि कृतिमतारहित अनि बढी जीवन्त आवाज श्रोतासम्म पुग्नेगर्छ । यो रेकर्ड नेपथ्यले पहिलोपटक ब्याण्डको आफ्नै अभ्यास कक्षमा गाएर गरेको हो।
‘दसौं अल्बमका अरु गीतहरु जस्तै प्रस्तुत हाक्पारेको पनि रेकर्डिङ यसै प्रविधिबाट सम्पन्न भएको हो,’ नेपथ्यको संयोजन गर्दैआएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘यसमा प्रयोग गरिएको भिडियो भने गत वर्ष दुबईमा आयोजना भएको कन्सर्टका दृश्यहरुबाट तयार पारिएको छ ।’
यस गीतलाई नेपथ्यले गत वर्षदेखि मुलुकभित्र र बाहिरका केहि कन्सर्टमा गाएर पनि सुनाइसकेको छ । श्रोता दर्शकबाट यो गीतले राम्रो प्रतिक्रिया पाउँदै आएको छ ।
यसलाई नेपथ्यको च्यानल www.youtube.com/nepathyaofficial स्थित यो लिंक https://www.youtube.com/watch?v=1kqgPJAp8Z0 मा हेर्न सकिन्छ ।
गीतको शब्द यस प्रकार छ:
कोशीको पानी यो जिन्दगानी
कोशीको पानी यो जिन्दगानी
सललल जाइजाने हौ हजुर
आमाको कोखमा बास मात्रै लिएँ नि
कुन देशको मरण हौ हजुर
ओऽ आमा
ओऽ आमा ओऽ आमा माई माई माई
कुन चाहिँ फूल लाइथ्यौ र सानु
वन सप्पै बसायो हौ हजुर
भित्रै बसी नक्कल पा¥यौ
बाहिर बिस्कुन खायो हजुर
उकालीको तामे ताउले
मन्साराको जाउली नि हौ हजुर
कैले पुग्नु फुङलिङ बजार
कैले माया गाँस्नु नि हौ हजुर
ओऽ माया
ओऽ माया ओऽ माया हाइ हाइ हाइ
सिपाही नाच्ने टुँडिखेलमा
बाँदर नाच्ने भीरमा नि हौ हजुर
शिरमा हेर्देऊ ढाकाटोपी
पाउमा हेर्देऊ जुत्ता नि हौ हजुर
हीरा–मोती जाईको फूल
लाउनु कपालैमा नि हौ हजुर
पाँचै र मुठी खानु बरु
बस्नु नेपालैमा नि हौ हजुर
हुर्रऽर हे,
ऐ लरि ऐ लरि बरि हाइ हाइ हाइ
कालो र मैलो बादलुबाट
सुनको मृग झ¥यो नि हौ हजुर
सुनको मृग झरेको ठाउँमा
फूलै र फुल्यो नि हौ हजुर
कोशीको पानी यो जिन्दगानी
सललल जाइजाने हौ हजुर
आमाको कोखमा बास मात्रै लिएँ नि
कुन देशको मरण हौ हजुर
ओऽ आमा
ओऽ आमा ओऽ आमा माई माई माई
————————————–
For more info:
Arpan Sharma
nepalaya
Contact: +977 9851026266
For regular update on Nepathya:
Facebook: facebook.com/nepathyaofficial
Twitter: @nepathya_band